काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एमपक्स संक्रमणको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूसँग छलफल गरेका छन्। संक्रमण फैलन नदिनका लागि हरेक सम्भावित उपाय अवलम्बन गर्न निर्देशन दिँदै मन्त्री पौडेलले एयरलाइन्स, अध्यागमन, नागरिक उड्डयन प्राधिकरण र सुरक्षाकर्मीहरूसँग प्रभावकारी समन्वय गर्न आह्वान गरे।

विमानस्थलमा हेल्थ डेस्कमार्फत फर्कने यात्रुहरूको निगरानी र सचेतनामूलक जानकारी दिन स्वास्थ्य मन्त्रालयले सक्रिय भूमिका खेलिरहेको छ। हालसम्म साउदी अरेबियाबाट आएका दुई नेपाली नागरिकमा एमपक्स संक्रमण पुष्टि भएको छ। एक जना बिरामी घर फर्किसकेका छन् भने अर्का बिरामीको टेकुस्थित सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ।

मन्त्रालयले संकास्पद बिरामीहरूको सम्पर्क ट्रेसिङ अभियान सञ्चालन गरिरहेको छ। साथै, विदेशस्थित नेपाली समुदायलाई दूतावासमार्फत सचेतना प्रदान गर्ने तयारी भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले नेपाल सरकारको सक्रियताप्रति प्रशंसा जनाउँदै आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पौडेलले जोखिम न्यून गर्न सबैलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै नागरिकलाई सुरक्षित राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0