काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सहभागिता चर्चाको विषय बनेको छ। यसअघि पनि माओवादीका विभिन्न बैठकमा सहभागी हुँदै आएका पुनको उपाध्यक्षका रूपमा भूमिका तय गर्न पार्टीभित्र छलफल चलिरहेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पुनको उपस्थितिसहितका तस्वीरहरू सार्वजनिक गरेको छ। पार्टी नेताहरूका अनुसार पुनलाई माओवादीको उपाध्यक्ष बनाउने तयारी भइरहेको छ।
पुनलाई भूमिका दिने विषयमा माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको थियो। सात वर्षसम्म उपराष्ट्रपतिका रूपमा भूमिका निर्वाह गरेका पुन पार्टी राजनीतिमा सक्रियता देखाउन चाहिरहेका छन्।

































