काठमाडौं, पुस १९ । सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमालेका नेता ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिल पोखरेललाई ठगी आरोप लागेपछि पदबाट निष्कासन गरेका छन्। मोरङको रंगेली नगरपालिका–२ का अनिल पोखरेलले सप्तरीका बौआलाल चौधरीसँग एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने प्रलोभनमा ३८ लाख रुपैयाँ लिएको आरोप छ।
उक्त घटनामा प्रहरी उजुरी लिन नमानेपछि चौधरीले २०७९ मा उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए। अदालतले मोरङ प्रहरीलाई अनुसन्धान गर्न परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाउने निर्णय गरेका हुन्। संघीय संसदको महासचिवलाई लेखिएको पत्रमा सभापति पोखरेलले निष्पक्ष छानबिनका लागि अनिललाई पदबाट हटाएको उल्लेख गरेका छन्। दोषी प्रमाणित भए कडा कारबाहीको माग उनले अघि सारेका छन्।
अनिल पोखरेल नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन्। उनी २०७९ को प्रदेशसभा सदस्यका उम्मेदवारका लागि सिफारिसमा परेका थिए। ठगी आरोपको विषयले उनको राजनीतिक छवि प्रश्नचिह्नमा पारेको छ।
































