काठमाडौं, पुस १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक दलहरूको सहमति र राष्ट्रिय एकता आवश्यक भएको बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध इमानदार प्रतिबद्धता प्रदर्शन गर्नुपर्नेमा जोड दिए।

उनले सदनमा उठेका गम्भीर प्रश्नहरूको निष्पक्ष अनुसन्धान गर्न समाज, सरकार र राजनीतिक दलहरूले इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘नेपाली जनताले सरकार र दलहरूबाट सुशासनको महसुस गरेनन् भने हाम्रो निष्ठा र नियतमा प्रश्न उठ्न सक्छ,’ उनले भने।

प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान केवल नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए। ‘हामी साँच्चै सुशासनका पक्षमा छौं भन्ने जनता अनुभूत गर्न चाहन्छन्,’ उनको भनाइ थियो। भ्रष्टाचारविरुद्धको लडाइँले मात्र लोकतन्त्र र समृद्धिको लक्ष्य पूरा हुने उनले उल्लेख गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0