
काठमाडौं, पुस १९। अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले संघीय न्याय प्रणालीमा बढ्दो खतरा औंल्याउँदै न्यायिक स्वतन्त्रताको संरक्षणका लागि गम्भीर चेतावनी दिएका छन्। गत मंगलबार सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा उनले संघीय अदालतका निर्णयहरूको अवज्ञाले न्यायिक प्रणालीलाई गम्भीर जोखिममा पार्ने भन्दै यसलाई अस्वीकार्य भनेका छन्।
१५ पृष्ठ लामो प्रतिवेदनमा उनले न्यायिक स्वतन्त्रता देशको कानुनी शासनको आधारस्तम्भ भएको बताएका छन्। ‘न्यायाधीशहरूको काम सबैलाई खुसी बनाउने हुँदैन, तर अदालतका निर्णयहरूलाई पालना गर्नु राष्ट्रको दायित्व हो,’ उनले भनेका छन्। उनले विगतका दशकहरूमा न्यायिक निर्णयप्रति देखाइएको सम्मानको उदाहरण दिँदै पछिल्लो समय यसको कमीले चिन्ता बढाएको उल्लेख गरे।
रोबर्ट्सले न्यायाधीशहरूलाई लक्षित धम्की, हिंसा र विरोधका घटना गणतन्त्रका लागि खतरनाक भएको बताएका छन्। ‘यस्ता घटनाहरूले न्यायपालिका कमजोर बनाउँछन्, जसले हाम्रो राजनीतिक र आर्थिक प्रणालीलाई जोखिममा पार्न सक्छ,’ उनले भने।
उनले दिवंगत न्यायाधीश रूथ बेडर गिन्सबर्गलाई उद्धृत गर्दै न्यायिक स्वतन्त्रता सुनिश्चित नगर्ने हो भने समाजले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाले न्याय प्रणालीमा विकृति ल्याउन सक्ने खतरा पनि औंल्याएका छन्।
न्यायाधीशहरूको सुरक्षामा वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै उनले न्यायाधीशहरूलाई बुलेटप्रूफ ज्याकेट लगाउन बाध्य गरिनु न्यायिक प्रणालीको असुरक्षित अवस्थाको प्रतीक भएको बताए।




























