पोखरा, पुस १९ गते। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न सरकारी वकिलले माग गरेका छन्। मंगलबार र बुधबार गरी दुई दिन चलेको थुनछेक बहसमा सहभागी ६ जना सरकारी वकिलले यस्तो माग दाबी गरेका हुन्।

कास्की जिल्ला अदालतमा न्यायाधीशसमक्ष भएको बहसमा सहायक जिल्ला न्यायाधिवक्ता सुजता पौडेलले बहस सुरु गरेकी थिइन्। उनको बहस नसकिएपछि बुधबार उनकै नेतृत्वमा अन्य चारजना सरकारी वकिलले बहसलाई निरन्तरता दिएका थिए। बुधबार बहस गर्नेहरूमा सहायक जिल्ला न्यायाधिवक्ता विपीनराज तिवारी, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतम र नायव महान्यायाधिवक्ता सन्दीपराज रेग्मी थिए।

पीडितका तर्फबाट बहस पैरवी गरेका अधिवक्ता युवराज पराजुलीका अनुसार सरकारी वकिलहरूले अभियोजनअनुसार सजाय हुनुपर्ने र पीडितको रकम फिर्ताका लागि प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए। प्रतिवादीहरूलाई थुनामा नराख्दा मुद्दाको अनुसन्धानमा नकारात्मक असर पर्न सक्ने उनीहरूको मुख्य तर्क थियो। अर्का अधिवक्ता बिबी विष्टका अनुसार सरकारी वकिलहरूले बचतकर्ताले थोपाथोपा गरी जम्मा गरेको रकम प्रतिवादीहरूको मिलेमतोमा हिनामिना भएको र बचतकर्ताको रकम फिर्ता गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको दलील प्रस्तुत गरेका थिए। उनीहरूले गाईभैँसीको दूध, दही, घिउ बेचेर सन्तानको भविष्यका लागि जम्मा गरेको किसानको रकम अपचलन गर्नेहरूलाई कारबाही हुनुपर्नेमा जोड दिएका थिए।

अदालतका स्रेस्तेदार राजन खनालका अनुसार बिहीबार जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन्। त्यसपछि प्रतिवादीका कानुन व्यवसायीको बहस हुनेछ। सबैको बहस सकिएपछि उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ताले जवाफ बहस गर्नेछन्। प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्तलगायतले वकालतनामा दिएका छन्। धेरै कानुन व्यवसायीले नाम टिपाएकाले न्यायाधीशले समय व्यवस्थापन गर्ने बताइएको छ।

उक्त मुद्दामा लामिछानेसहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, जिबी राईकी पार्टनर लीला पछाईं, साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व सञ्चालक कृष्णबहादुर गुरुङलाई अदालतमा उपस्थित गराइएको थियो। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो। यसअघि मुख्य अभियुक्त जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। पछिल्लो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले प्रतिवादीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0