काठमाडौं, पुस १९ । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बाबजुद पनि परिणाम देखिने गरी काम गर्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा मन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणलाई मुख्य चुनौतीको रूपमा औँल्याउँदै यी विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।
उनले चुनौतीका रूपमा रहेका यी तीनवटै विषय एकआपसमा अन्तरसम्बन्धित रहेको बताउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी काम गर्न आग्रह गरे। सीमामा हुने अपराध नियन्त्रण, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन पनि उनले जोड दिए। मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको जानकारी दिँदै मन्त्री लेखकले कामको गुणस्तर बढाउनुपर्ने बताए। शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी राज्यको काँधमा रहेको बताउँदै उनले विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा अपरिहार्य रहेको उल्लेख गरे।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीले पनि नतिजामुखी काम गर्न निर्देशन दिए। उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको बताए। विपद् व्यवस्थापनका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो। सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि उनले विशेष जोड दिए। सचिव दुवाडीले जिम्मेवारी र दायराभित्र रहेर काम गर्न निर्देशन दिए। भर्चुअल बैठकमा देशभरका प्रजिअसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता थियो।































