पाटन, पुस १९ । आपत्कालीन अवस्थामा रगत खोज्न सहज बनाउने उद्देश्यले ‘ब्लड फर मी’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त एपको शुभारम्भ गरेका हुन्।
मन्त्री महर्जनले मानवीय सेवाको महत्त्वपूर्ण पाटो रक्तदानलाई व्यवस्थित बनाउन र आपत्कालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। रक्तदान जस्तो पवित्र कार्यलाई प्रोत्साहन गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। सबै धर्मको मूल मर्म मानवीय सेवा नै भएकाले रक्तदानलाई उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनले सबै संस्थाहरूलाई एकीकृत रूपमा क्रियाशील भई बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्थाअनुसार काम गर्न आग्रह गरे। प्रदेश सरकारले सरकारी सेवालाई डिजिटलाइज गर्ने क्रममा नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर काम गरिरहेको उनले बताए। विज्ञान र प्रविधिको युगमा ‘टेलिमेडिसिन’ जस्ता प्रविधिको विकास र विस्तार गरी जनतालाई प्रभावकारी सेवा दिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरूलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए। उनले आफ्नो संस्थासँग तीन सयभन्दा बढी सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरूलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको बताए। जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा ललितपुरको पाटन अस्पताल र बज्रवाराही प्रदेश अस्पताललाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी पनि उनले दिए।
‘ब्लड फर मी’ एपका निर्माणकर्ता साजन महर्जनले रगतको आवश्यकता परेको समयमा खोजी गर्दा भोग्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै यसको समाधानका लागि एप विकास गरेको बताए। यसले गर्दा बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध हुने उनको विश्वास छ। ब्लोदान काठमाडौंका अध्यक्ष तिलकबहादुर अधिकारी, जिल्ला शाखा ललितपुरका संस्थापक अध्यक्ष राजेन्द्र महर्जन र उपाध्यक्ष मदन श्रेष्ठले रक्तदानको महत्त्व र विभिन्न सङ्घसंस्थाको सहभागिताको आवश्यकता बारे चर्चा गरेका थिए। कार्यक्रममा स्वयंसेवी रक्तदाता ब्लोदानका केन्द्रीय सदस्य साधुराम महर्जनलाई सम्मान गरिएको थियो।





























