काठमाडौं, पुस १९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूमा पनि स्वास्थ्य बीमाको रकमबाट उपचार गर्न पाइने व्यवस्था मिलाइने बताएका छन्। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकासमा लागेको र बीमाको रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याइएको जानकारी दिए।

उनले नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी अस्पतालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सबै नागरिकको पहुँच पुग्ने गरी स्वास्थ्य सेवा प्रदान गर्न सुझाव दिए। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउने व्यवस्था भएकाले ढुक्क भएर काम गर्न उनले आग्रह गरे।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पतालले टोखालाई पहिचान दिएकोमा गौरव महसुस गरेको बताए। उनले ग्राण्डीले टोखालाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाएको भन्दै अस्पतालको भूमिकाको प्रशंसा गरे। नगरपालिकाको प्रमुख लक्ष्य टोखालाई समुन्नत र समृद्ध बनाउने रहेको उनले बताए।

अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले ग्राण्डीले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताए। स्थापनाकालदेखि नै भूकम्प, नाकाबन्दी र कोरोना जस्ता समस्याको सामना गरे पनि ग्राण्डीले स्वदेशी तथा विदेशी बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा उनले खुसी व्यक्त गरे। नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उद्देश्यले ग्राण्डी स्थापना भएको कुँवरले बताए।

अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छेले ग्राण्डीले नेपालीको मात्र नभई विदेशीको पनि सफल उपचार गरेर अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको बताए। कार्यक्रममा अस्पतालमा १० वर्षदेखि निरन्तर कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0