काठमाडौं, पुस १९ । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या करिब डेढ लाख हाराहारीमा रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८० को प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेको छ। सबैभन्दा धेरै होटल तथा रेस्टुरेन्ट बागमती प्रदेशमा ५२ हजार १ सय २३ वटा रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार १ सय १० वटा रहेका छन्। अन्य प्रदेशहरूमा कोशीमा २५ हजार ८ सय ८७, मधेशमा ११ हजार ७ सय ४०, गण्डकीमा १६ हजार ९ सय ७६, लुम्बिनीमा २० हजार १ सय ५८ र सुदूरपश्चिममा ८ हजार २ सय २८ वटा यस्ता प्रतिष्ठानहरू रहेका छन्।

अध्ययन प्रतिवेदनअनुसार यी प्रतिष्ठानहरूमा संलग्न व्यक्तिको संख्या ३ लाख ८७ हजार ७ सय ४७ रहेको छ। यो संख्यामा व्यवसायी, साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी कर्मचारीहरू समावेश छन्। प्रत्यक्ष रोजगारी पाएकाहरूको संख्या १ लाख ६ हजार ४ सय ५९ रहेको छ। होटल तथा रेस्टुरेन्टहरूले कर्मचारीको वार्षिक तलब, ज्याला र सुविधामा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूमा करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको लागत रहेको र करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार यी प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ।

अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानहरूमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको स्थायी सम्पत्ति रहेको पाइएको छ। यी प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाबाट ऋण लिएको र ७१.६ प्रतिशतले ऋण नलिएको देखिएको छ। कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा तारे होटल, रिसोर्ट, गैरतारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो। होटलहरूमा रहेको कोठाको कुल संख्या १ लाख १६ हजार १ सय रहेको छ। जसमध्ये स्टार होटलमा ८ हजार ४ सय ९६, गैरतारे होटल तथा लजमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८ सय २९ र होमस्टेमा ३ हजार ७ सय कोठा रहेको अध्ययनले देखाएको छ। हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार ८ सय ५२ जनालाई सेवा दिन सक्ने अध्ययनमा उल्लेख छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0