पोखरा, २० पुस । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ। जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गर्दै विभिन्न उपसमितिहरू गठन गरेको छ। प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते हुने तय भएसँगै त्यसअघि नै शाखा, जिल्ला र प्रदेश अधिवेशनहरू सम्पन्न गर्ने कार्यक्रम अनुसार कास्कीमा पनि अधिवेशन हुन लागेको हो।
अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष दवाडीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नवीकरण तथा अभिलेखीकरण उपसमिति, उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ। केन्द्रीय सचिव माधव पनेरुको संयोजकत्वमा अधिवेशन निर्देशक उपसमिति र केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ।
बैठकले नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमिति, प्रदेश परिषद् र केन्द्रीय परिषद्मा निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेको थियो। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रामजी प्रसाद बरालले प्रेस सेन्टरले जनताका मुद्दा र समस्याहरू सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिए। कार्यक्रममा अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानी, माओवादी केन्द्रका केन्द्रीय सदस्य र प्रेस सेन्टरका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूको उपस्थिति थियो।





























