काठमाडौं, २० पुस । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रशंसित नेपाली फिल्म ‘पूजा सर : राजागञ्ज’ अब नेपाली दर्शकमाझ आउने भएको छ। निर्देशक दीपक रौनियारले फिल्म चैत १ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई देख्न सकिन्छ। दयाहाङ र आशाले प्रहरीको भूमिका निभाएका छन्।

रामबाबु गुरुङद्वारा निर्मित यो फिल्म ‘पुलिस थ्रिलर’ विधामा बनेको छ। एक महिला प्रहरी अधिकृतको कर्तव्य निर्वाहको क्रममा हुने संघर्ष र घटनालाई फिल्मको कथाले समेट्छ। महिला प्रहरीलाई पनि ‘सर’ भनिने प्रचलनलाई फिल्मको शीर्षकमा उठान गरिएको छ। फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको पनि अभिनय रहेको छ। ‘पूजा सर : राजागञ्ज’ २९औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल लगायत अन्य महोत्सवमा प्रदर्शन भइसकेको छ भने केहीमा प्रदर्शनको तयारीमा छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0