पोखरा, २० पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छविलाल जोशी र लीला पछाईंका कानुन व्यवसायीहरूले जिल्ला अदालत कास्कीमा बहस गरेका छन्। शुक्रबार भएको थुनछेक बहसका क्रममा उनीहरूले अभियोगपत्रमा प्रमाण पुष्टि हुने बलियो आधार नभएको दाबी गरेका छन्। यसअघि सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले बहस गरेका थिए।

छविलालका तर्फबाट बहस गर्ने क्रममा अधिवक्ताहरूले पूरक अभियोगपत्रमा हदम्यादको प्रश्न उठाएका थिए। उनीहरूले २०८० असोज १८ मा मूल अभियोगपत्र दर्ता भएको लामो समयपछि पूरक अभियोगपत्र दर्ता हुँदा हदम्याद किन नराखिएको भनी प्रश्न गरे। अधिवक्ता जगन्नाथ ढकालले छविलालले सहकारीको रकम लिएको नदेखिएको र उनले शेयर हालेको भए पनि पैसा नदिएको र छोड्दा पनि नलिएको जिकिर गरे। उनले नेचर हब्स २७ दिन र गोर्खा मिडिया पाँच महिना नपुग्दै छोडेको तथ्य पेस गर्दै प्रमाणविपरीत अभियोग दर्ता भएको बताए। अर्का अधिवक्ता अपूर्व खतिवडाले छविलालको सहकारीसँग कुनै सम्बन्ध नरहेको, उनी सहकारीको सञ्चालक वा शेयर सदस्य पनि नरहेको र गोर्खा मिडिया र नेचर हब्सलाई अभियोगमा प्रतिवादी नबनाइएको तर्क प्रस्तुत गरे।

लीला पछाईंका तर्फबाट अधिवक्ता डा. गणेशबहादुर भट्टराईले पछाई जीबी राईको सहयोगी मात्र भएको र कुनै गल्ती नगरेको दाबी गरे। उनले पछाई सहकारीको सदस्य र सञ्चालक नरहेको, माग फारम भरेर कर्जा नलिएको र मालिकले जम्मा गरिदिएको पैसाको स्रोत खोज्ने दायित्व पनि उनको नभएको बताए।

शनिबार सार्वजनिक बिदा परेकाले बहस आइतबारलाई स्थगित भएको छ। वरिष्ठ अधिवक्ता शम्भु थापा र कृष्ण खरेलले आइतबार छविलालकै तर्फबाट बहस गर्नेछन्। छविलालको बहस सकिएपछि मात्र पूर्वगृहमन्त्री रवि लामिछानेका वकिलले बहस गर्नेछन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो दाबी गरिएको छ। हाल हिरासतमा रहेका लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ र कृष्णबहादुर गुरुङको थुनछेक बहस भइरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0