काठमाडौं, पुस २३ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनलाई मात्रै सबै समस्याको समाधानको रूपमा हेर्न नहुने विचार व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माण भएको एक दशक पुगेको अवसरमा संविधान संशोधनको चर्चा सुरु भएको उल्लेख गरे। उनले संविधान निर्माणपश्चात् मुलुकले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको र लोकतान्त्रिक अभ्यास सहज रूपमा अघि बढेको बताए।

उपमहासचिव ज्ञवालीले दुई पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको र लोकतान्त्रिक अभ्यास सुचारु रूपमा चलिरहेको बताए। उनले निर्वाचनपश्चात् जनप्रतिनिधिले कस्तो कार्यसम्पादन गरे भन्ने विषय बेग्लै भए तापनि लोकतान्त्रिक प्रक्रिया भने सहज रूपमा अघि बढेको स्पष्ट पारे। उनले मुलुकमा थुप्रै समस्या विद्यमान रहेको र क्रान्तिले जगाएको अपेक्षा र नागरिकलाई दिइएको सुविधाबीच ठुलो अन्तर रहेको औंल्याए। उनले संविधान संशोधनबाट मात्रै सबै समस्याको समाधान खोज्नु गलत भएको धारणा राखे।

ज्ञवालीले क्रान्तिले सिर्जना गरेको अपेक्षा र वर्तमानमा नागरिकले पाएको सेवा सुविधाबीच ठुलो खाडल रहेको बताए। उनले संविधानबाटै सबै कुराको समाधान खोज्ने प्रवृत्ति गलत भएको जिकिर गरे। कतिपय समस्या संविधानका अन्तरनिहित कमजोरीका कारण उत्पन्न भएका छन् भने कतिपय समस्या संविधानको अभ्यास गर्ने व्यक्ति, संस्था र प्रवृत्तिले सिर्जना गरेको उनको भनाइ थियो। उनले सबै समस्याको समाधान संविधान संशोधनमा खोज्ने र समाधान नभए संविधान नै बदल्ने प्रवृत्तिले कुनै निष्कर्षमा नपुगिने बताए। संविधान संशोधन सबै कुराको समाधान हुन नसक्ने उनको ठहर थियो।

ज्ञवालीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्न खोज्दा संसद्को स्थिरता, सरकार र सरकारले अवलम्बन गर्ने नीतिहरूको सङ्गतिबारे स्पष्ट हुनुपर्नेमा जोड दिए। उनले संविधान आफैँमा एक गतिशील दस्तावेज भएको उल्लेख गर्दै यसलाई अधिकतम लचिलो बनाउनुपर्ने बताए। संविधानलाई समय सापेक्ष परिमार्जन गर्न सकिने भएता पनि यसलाई सम्पूर्ण समस्याको एक मात्र समाधानको रूपमा हेर्न नहुने उनको भनाइ थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0