सोलुखुम्बु, पुस २३ । तिब्बत र नेपालको सीमा क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पको धक्का सोलुखुम्बु जिल्लामा पनि महसुस गरिएको छ। विशेषगरी खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा भूकम्पको कडा झट्का महसुस गरिएको स्थानीयले बताएका छन्। भूकम्पको केन्द्रबिन्दु दिङ्गेबाट करिब ९० किलोमिटर दूरीमा रहेको लबुचेमा सबैभन्दा बढी प्रभाव परेको बताइएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाका अनुसार भूकम्पको ठुलो झट्काका कारण क्षति भएको अनुमान गरिए पनि हालसम्म भौतिक तथा मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन। भौगोलिक विकटता र यातायातको असुविधाका कारण सबै क्षेत्रबाट जानकारी आउन समय लाग्ने उनले बताए। शक्तिशाली भूकम्पपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। विभिन्न ग्रामीण क्षेत्रबाट विवरण आउन बाँकी रहेकोले क्षतिको यकिन तथ्यांक आउन केही समय लाग्ने उनले बताए। प्रहरी प्रशासनले भूकम्पपछिको अवस्थाको निरीक्षण गर्न टोली परिचालन गरेको छ भने सम्पूर्ण सुरक्षा संयन्त्रलाई सतर्क अवस्थामा राखिएको छ।

बिहान ६ बजेर ५० मिनेट आसपास गएको भूकम्पका कारण सोलुखुम्बुका विभिन्न भागमा मानिसहरु घरबाहिर निस्केर सुरक्षित स्थानतर्फ भागेका थिए। स्थानीय बासिन्दाले २०७२ सालको भूकम्पको स्मरण गराउने गरी ठुलो झट्का महसुस भएको बताएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0