काठमाडौँ, २३ पुस । पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा रु २६ अर्ब बराबरको ऋण लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ। लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत् आयोजना र लमजुङमा निर्माणाधीन १०२ मेगावाटको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।

दानाखोला आयोजनामा रु नौ अर्ब ९६ करोड लगानीका लागि विभिन्न बैंक र वित्तीय संस्थासँग सम्झौता भइसकेको छ। आयोजनाको कुल लागतको केही हिस्सा स्थानीयवासीलाई रु ७४ करोड बराबरको शेयरका रूपमा जारी गरिनेछ भने प्रवर्द्धक तथा सञ्चालकहरूले रु एक अर्ब ७४ करोड लगानी गर्नेछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्ष मोहनकुमार डाँगीका अनुसार, यस आयोजनाले आगामी दिनमा ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेछ।

त्यस्तै, अप्पर मस्र्याङ्दी एक आयोजनामा रु १६ अर्ब बराबरको बैंक लगानी जुटिसकेको छ। लक्ष्मी सनराइज बैंकले रु सात अर्ब, ग्लोबल आइएमइ बैंकले रु छ अर्ब, र प्रभु बैंकले रु तीन अर्ब लगानी गर्ने भएका छन्। कुल लागत रु २१ अर्ब ४० करोड रहेको यस आयोजनाले वार्षिक ५८३ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ। चार वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको यस आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता र उत्पादन अनुमतिपत्र समेत प्राप्त भइसकेको छ।

इपानका अध्यक्ष गणेश कार्कीका अनुसार, अन्य जलविद्युत् आयोजनाहरूको वित्तीय व्यवस्थापन पनि क्रमशः सम्पन्न हुने क्रममा छ। हालसम्म २० जलविद्युत् आयोजना वित्तीय व्यवस्थापनमा सफल भएका छन् भने केही प्रक्रियामा रहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0