बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै सुरु हुने भएको छ। मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण सम्पन्न भएसँगै चितवनसम्म पाइपलाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको नेपाल आयल निगमले जानकारी दिएको छ।
अमलेखगञ्ज–लोथर खण्डमा ६९ किलोमिटर लामो पाइपलाइन निर्माणका लागि उच्चस्तरीय प्राविधिक टोलीले फिल्ड अध्ययन सकिसकेको छ। हाल विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम भइरहेको निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले बताए। उनका अनुसार, पाइपलाइन विस्तार भई लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने योजना छ। यसले पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम अभावको समस्या समाधान गर्ने विश्वास लिइएको छ।
यसैबीच, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको परीक्षण कार्य पनि जारी छ। परीक्षणको क्रममा पाँच हजार पाँच सय केएल पेट्रोल र एक हजार केएल मट्टितेल पाइपलाइनबाट ल्याइएको छ। नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार परीक्षण सफल भएपश्चात् पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुरु गरिनेछ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्नेबारे छलफल जारी छ। जनवरी २०२५ मा नियमित आयात सुरु गर्ने योजना रहेको भए पनि आवश्यक तयारी पूरा गर्न केही दिन ढिलाइ हुनसक्ने बताइएको छ।


























