प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्य गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। मङ्गलबार साँझ प्रधानमन्त्री निवासमा भएको भेटमा परिषद्का अध्यक्ष बलिभद्र रानासहितका प्रतिनिधिले निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल कदम चाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।

परिषद्ले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड र सिमेन्टलगायत निर्माण सामग्रीको मूल्यवृद्धिलाई ध्यानमा राखेर ठेक्कामा मूल्य समायोजन गर्न, बक्यौता रकम भुक्तानी गर्न र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माणका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताएको छ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही बक्यौता रकम भुक्तानी भइसकेको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउन निर्देशन दिइसकेको जानकारी गराएका छन्। साथै, उहाँले सार्वजनिक खरिदमा आउने अवरोध हटाउन र प्रक्रिया प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै निर्माण कार्यको गुणस्तर मापदण्डअनुसार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “सबैभन्दा कम रकममा ठेक्का दिने प्रवृत्तिले कतिपय स्थानमा गुणस्तरीय निर्माणमा असर पुर्‍याएको देखिन्छ,” उहाँले भने, “यसलाई नियन्त्रण गर्न र लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यान दिन आग्रह गरिएको छ।”

सरकारले विकास निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको र विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा विकास निर्माणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन योजनाबद्ध ढंगले अघि बढ्ने बताए।

भेटघाटका क्रममा परिषद्का पदाधिकारीहरूले भौतिक पूर्वाधार निर्माणका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै निर्माण व्यवसायीका समस्याहरू समयमै समाधान गर्न सरकारसँग अपेक्षा व्यक्त गरेका थिए।

प्रधानमन्त्रीले निर्माण क्षेत्रको विकास र प्रभावकारिता सरकारको मुख्य प्राथमिकता रहेको भन्दै व्यवसायीलाई पनि जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे। उहाँले भने, “गुणस्तर र मापदण्ड पूरा नगरेका काम सरकारलाई स्वीकार्य हुने छैन।”

भेटघाटमा उपस्थित व्यवसायीहरूले छड, सिमेन्टलगायतका सामग्रीको मूल्यवृद्धिले निर्माण कार्यमा पारेको प्रभावबारे जानकारी गराउँदै यी समस्याहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। – रासस

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0