रुपन्देही, २४ पुस । रुपन्देहीको भैरहवा र आसपास क्षेत्र बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। दुई दिनदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान ठप्प रहेको छ।
विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार उडानका लागि आवश्यक पर्ने १ हजार ८ सय मिटरको भिजिबिलिटी उपलब्ध नभएकाले विमानस्थलबाट उडान र अवतरण रोकिएको छ। बुद्ध, यति, र श्री एयरलायन्सले भैरहवा–काठमाडौं र पोखराका लागि नियमित उडान गर्दै आए पनि हाल उडानहरू प्रभावित भएका छन्।
हुस्सु र चिसोले सडक यातायात पनि प्रभावित भएको छ। सवारी साधनको सङ्ख्या कम हुनुका साथै पैदलयात्रीहरूको चहलपहल घटेको छ। स्थानीयले चोक र सडक किनारमा आगो बालेर चिसोबाट बच्ने प्रयास गरिरहेका छन्।
मौसमविद्हरूका अनुसार आगामी केही दिन यस्तै अवस्थाले निरन्तरता पाउने सम्भावना रहेको छ। दैनिक २ हजार ६ सय यात्रु प्रयोग गर्ने गौतम बुद्ध विमानस्थलको हवाई सेवा पुनः सञ्चालन कहिले हुने भन्ने अनिश्चित छ।






























