पोखरा, २४ पुस । वैज्ञानिकहरूले झोलामा अट्ने शक्तिशाली मिनी सुपरकम्प्युटर निर्माणको घोषणा गरेका छन्। “प्रोजेक्ट डिजिट्स” नामक यो उपकरण कृत्रिम बुद्धिमत्ता (एआई), अनुसन्धान, र डेटा विज्ञानका लागि विशेष रूपमा डिजाइन गरिएको छ। यसले डेभलपर्स, विद्यार्थी, र रोबोटिक्स जस्ता क्षेत्रमा कार्यरत अनुसन्धानकर्ताहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

एनभिडियाका सीईओ जेन्सेन हुआङले लस भेगासमा आयोजित सीईएस कार्यक्रममा यस उपकरणको घोषणा गर्दै यसले क्लाउडमा आधारित ठूला डेटा सेन्टरहरूको निर्भरतालाई घटाउने जानकारी दिनुभयो। उपकरणको अन्तिम डिजाइन अझै तयार भइनसके पनि यसलाई डेस्कमा सजिलै अट्ने र झोलामा राखेर बोक्न मिल्ने बनाइनेछ।

उपकरणको विशेषता
प्रोजेक्ट डिजिट्स एनभिडिया जीबी१० ग्रेस ब्ल्याकवेल सुपरचिपद्वारा सञ्चालित छ। यो सुपरचिपले डेटा स्थानान्तरणको समय घटाउने उद्देश्य राखेको छ। यसमा एनभिडिया ब्ल्याकवेल ग्राफिक्स कार्ड र ग्रेस प्रोसेसरका साथै १२८ गिगाबाइट मेमोरी र ४ टेराबाइट एसएसडी स्टोरेज जडान गरिएको छ।

सामान्य पीसीभन्दा करिब १ हजार गुणा शक्तिशाली यो उपकरणले रोबोटिक्स, स्वचालित प्रणाली, र कम्प्युटर भिजनमा अनुसन्धान गरिरहेका व्यक्तिहरूलाई छिटो समाधान विकास गर्न सक्षम बनाउनेछ। टोरोन्टो विश्वविद्यालयकी प्राध्यापक र वाबी कम्पनीकी संस्थापक राकेल उर्तासनका अनुसार, यो उपकरणले अनुसन्धानका लागि शक्तिशाली र प्रयोगमैत्री वातावरण उपलब्ध गराउनेछ।

२०० अर्बभन्दा बढी प्यारामिटर मोडेल सञ्चालन गर्न सक्षम
प्रोजेक्ट डिजिट्सले २०० अर्ब प्यारामिटरका जेनेरेटिभ एआई मोडेलहरू सञ्चालन गर्न सक्नेछ। दुई यस्ता उपकरण जडान गरेर ४०५ अर्ब प्यारामिटरसम्मका मोडेलहरू चलाउन सकिन्छ। उदाहरणका लागि, नोभेम्बर २०२२ मा च्याटजीपीटीको जीपीटी ३.५ संस्करणले १७५ अर्ब प्यारामिटर प्रयोग गरेको थियो।

डेस्कटप सुपरकम्प्युटरको शक्ति
यो मिनी सुपरकम्प्युटरको शक्ति १ पेटाफ्लप्स रहेको छ, जुन सामान्य ल्यापटप वा डेस्कटप कम्प्युटरभन्दा निकै उच्च हो। यद्यपि, यो विश्वका अत्याधुनिक सुपरकम्प्युटरहरूको स्तरसम्म भने पुग्दैन। यसको उपयोगिता भने सुलभता र मूल्यको आधारमा धेरै उपयोगी रहने देखिन्छ।

बजारमा उपलब्ध हुने समय र मूल्य
एनभिडियाका अनुसार, यो उपकरण मे महिनासम्म ३ हजार डलरको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ। इच्छुक व्यक्तिहरू यसका लागि अग्रिम दर्ता गर्न सक्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0