काठमाडौँ, पुस २५ । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीहरूको सहभागितामा कमी देखिएको छ। विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर प्रदान गरेको थियो।

२०५६ सालदेखि २०७७ सालसम्म परीक्षा दिएर अनुत्तीर्ण भएका विद्यार्थीलाई परीक्षा दिने मौका उपलब्ध गराइए पनि फाराम भर्ने विद्यार्थीको सङ्ख्या अपेक्षाकृत रूपमा कम रहेको छ। बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार करिब १४ लाख परीक्षार्थी अनुत्तीर्ण रहेकामा मौका परीक्षाका लागि मात्र २२ हजारले आवेदन दिएका छन्। बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेले दुई पटकसम्म फाराम भर्ने म्याद थप्दा पनि २१ हजार ८५३ मात्र सहभागी भएको जनाउनुभयो।

घिमिरेका अनुसार २०६० सालपछिका विद्यार्थीहरूको सहभागिता बढी देखिए पनि पुराना परीक्षार्थीहरूको रुचि घटेको छ। शिक्षाविद् प्राडा बालचन्द्र लुइटेलका अनुसार लामो समयअघि अनुत्तीर्ण भएकाहरू अहिले पेसा व्यवसायमा व्यस्त भएकाले परीक्षा फाराम भर्ने उत्साह कम भएको हो। साथै, परीक्षा पास गरेर भविष्य निर्माणमा केही लाभ नहुने धारणा राख्ने परीक्षार्थीको संख्या पनि ठूलो रहेको बताइएको छ।

बोर्डले अहिले पनि केन्द्रीय र प्रादेशिक कार्यालयमार्फत भौतिक रूपमा फाराम सङ्कलन गरिरहेको छ। यद्यपि, फाराम भर्ने दर नगण्य रहेको छ। मौका परीक्षाको समय तालिका भने फाराम भर्नेहरूको अन्तिम सङ्ख्या यकिन भएपछि मात्रै निर्धारण गरिने बताइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0