पोखरा, २५ पुस । टेस्ला र अन्य इलेक्ट्रिक गाडी निर्माता कम्पनीका लागि ब्याट्री आपूर्ति गर्दै आएको पानासोनिक एनर्जीले चीनमाथिको निर्भरता हटाउने रणनीति अघि बढाएको छ। संयुक्त राज्य अमेरिकामा बनाइने इलेक्ट्रिक गाडीका ब्याट्रीहरूको आपूर्ति शृंखलामा चीनको स्थान पूर्ण रूपमा हटाउने योजना कम्पनीको प्रमुख प्राथमिकता रहेको उत्तर अमेरिकाका पानासोनिक एनर्जीका अध्यक्ष एलन स्वानले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि उच्च आयात शुल्क लगाउने प्रतिज्ञा गरेपछि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादन प्रक्रियाहरूलाई पुनरावलोकन गर्न थालेका छन्। यही सन्दर्भमा पानासोनिकले पनि चीनमाथिको निर्भरता हटाउन आपूर्ति शृंखलामा परिवर्तन ल्याउने काम तीव्र बनाएको हो।
पानासोनिक एनर्जीले आफ्नो अमेरिकी कारखानाका लागि कच्चा पदार्थहरू प्रमुख रूपमा क्यानाडा र अन्य विदेशी आपूर्तिकर्ताबाट ल्याउने गरेको स्वानले बताएका छन्। कम्पनीले नेभाडामा रहेको कारखाना सञ्चालन गर्दै आएको छ भने कन्सासमा दोस्रो प्लान्ट खोल्ने योजना बनाएको छ।
चीनमा निर्भरता कम गर्ने क्रममा पानासोनिकले जापानी र कोरियाली आपूर्तिकर्ताहरूलाई अमेरिका भित्र आफ्ना उत्पादन सञ्चालन विस्तार गर्न सहयोग गरिरहेको छ। साथै, अमेरिकी आपूर्तिकर्ताहरूलाई प्राथमिकता दिँदै नयाँ अनुबंधहरू गर्दैछ।
अमेरिकामा व्यापार शुल्क वृद्धिको सम्भावना र आपूर्ति व्यवस्थामा आउने परिवर्तनले अन्य कम्पनीहरू पनि प्रभावित भएका छन्। निसान जस्ता अटोमेकरहरूले मेक्सिकोबाट हुने निर्यातमा शुल्कले पारेको प्रभावबारे चिन्ता व्यक्त गरेका छन्। त्यस्तै, गह्रुङ्गा मेसिन निर्माता कोमात्सुले पनि सम्भावित व्यापार युद्धले आफ्नो व्यवसायमा नकारात्मक असर गर्ने चेतावनी दिएको छ।
पानासोनिक एनर्जीले आफ्नो तीन चरणीय रणनीतिमा आपूर्ति शृंखलालाई परिमार्जन गर्दै अमेरिकी बजारमा स्थायित्व र प्रभावकारीता कायम राख्ने उद्देश्य राखेको छ।
































