बाँके, २५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालयका रूपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। प्रदेश सरकारले गौरवको आयोजना अन्तर्गत अघि बढाएको यो विश्वविद्यालयलाई शैक्षिक र प्रशासनिक सेवालाई प्रभावकारी बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने लक्ष्य लिएको छ।
नेपालगन्जमा बुधबार सम्पन्न विश्वविद्यालयको छैटौं सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयलाई आधारशीला बनाउनुपर्ने बताए। कुलपति समेत रहेका मुख्यमन्त्रीले भने, “देशभरका विद्यार्थीहरूलाई आकर्षित गरी अध्ययनका लागि उपयुक्त वातावरण बनाउनु आवश्यक छ। हामी युगले माग गरेको र विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा यस विश्वविद्यालयलाई उभ्याउनेछौं।”
प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा लगानी गर्ने नीति लिएको जानकारी गराउँदै मुख्यमन्त्रीले विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। “आवश्यकताको आधारमा नयाँ संकाय थप्ने र विद्यार्थीलाई कामसँग जोड्ने व्यवस्था गर्न सरकार गम्भीर छ,” उनले भने।
बैठकमा विश्वविद्यालयको २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्षका बजेट र कार्यक्रममाथि समेत छलफल गरिएको थियो। उपकुलपति प्राडा. बिनोद ढकालका अनुसार विश्वविद्यालयले नयाँ योजनाहरू अघि सार्दै प्राविधिक शिक्षा क्षेत्रमा योगदान पुर्याउने योजनालाई प्राथमिकता दिएको छ।
मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरूलाई प्राविधिक जनशक्ति उत्पादनको थलो बनाउँदै देशकै नमुना विश्वविद्यालयको स्वरूप दिन सबै पक्षबाट सहकार्य आवश्यक रहेको दोहोर्याए। उनले अनुसन्धान, नवीन प्रविधि र गुणस्तरीय शिक्षाका लागि सरकारको विशेष ध्यानाकर्षण रहेको बताए।




























