पोखरा, २६ पुस । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नीतिज राईको इजलासले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिएको हो।

रविको हकमा ६५ लाख रुपैयाँ धरौटी मागिएको छ भने उनका साझेदार पूर्वडीआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ। यसैगरी, अन्य प्रतिवादीहरू लीलामाया पछाईं, आरती गुरूङ, मीना गुरूङ, कृष्णबहादुर गुरूङ, र रामबहादुर खनाललाई पनि फरक-फरक धरौटी रकम तोकिएको छ।

सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा लामिछानेविरुद्ध ३ करोड ३७ लाख ६५ हजार रूपैयाँसहित अन्य आरोपीहरूविरुद्ध उच्च बिगो दाबी गरेको थियो। यसका साथै रविको सम्पत्ति जफतको माग पनि गरिएको थियो, जसमा उनकी श्रीमती निकिता पौडेललाई विपक्षी बनाइएको छ।

यो प्रकरणको थुनछेक प्रक्रिया कास्कीमा टुंगिए पनि काठमाडौं, चितवन, बुटवल, र वीरगञ्जमा चलिरहेका सहकारी ठगी मुद्दा अझै बाँकी छन्। यी मुद्दाहरूले अझै लामो प्रक्रियामा जाने सम्भावना रहेको देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0