पोखरा, २६ पुस। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका छन्। अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाएको हो।
लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी शुक्रबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले दिएका छन्।
कास्की जिल्ला अदालतको इजलासले सहकारी रकम अपचलन मुद्दामा मुछिएका अन्य छ जना प्रतिवादीलाई पनि विभिन्न धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशअनुसार छविलाल जोशीले ८८ लाख, लीला पछाईँले ३७ लाख, रामबहादुर खनालले १५ लाख, कृष्णबहादुर गुरूङले एक लाख, मीना गुरूङ र आरती गुरूङले पाँच-पाँच लाख धरौटी बुझाएका छन्।
तर, प्रतिवादी लीला पछाईँले बिहीबारसम्म धरौटी रकम बुझाउन नसकेपछि उनी हिरासतमै रहेको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।
पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाइसकेको छ।
अदालतमा दश दिनसम्म चलेको थुनचेक बहसपछि प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश आएको हो। लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गरिए पनि उनीहरूमाथि थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताएका छन्।
सहकारी प्रकरणले देशभर चर्चा पाएको बेला लामिछानेविरुद्ध कानुनी प्रक्रिया अघि बढेको छ। कास्कीको सहकारी ठगी मुद्दा उनको राजनीतिक छवि र जिम्मेवारीलाई थप दबाबमा ल्याउने विषय बनेको छ।
































