पोखरा, २६ पुस । लस एन्जलसका विभिन्न क्षेत्रहरुमा फैलिएको डढेलोले कम्तीमा १० जनाको ज्यान लिएको छ भने सयौं घरहरु ध्वस्त भएका छन्। करिब १ लाख ८० हजार बासिन्दालाई तत्काल घर छोड्न भनिएको छ भने थप २ लाख बासिन्दालाई सतर्क रहन चेतावनी दिइएको छ।
बिबिसीका अनुसार, अहिले लागेको सबैभन्दा ठूलो डढेलो नियन्त्रणमा आउन नसकेको छ। प्रतिकूल मौसम र जलवायु परिवर्तनको प्रभावले आगो अझै केही दिन बलिरहने सम्भावना रहेको बताइएको छ।
सबैभन्दा ठूलो डढेलो प्रशान्त पालीसेड्स क्षेत्रमा देखिएको छ, जसले करिब २०,००० एकड जमिनलाई जलाएको छ। यो आगो लस एन्जलसको इतिहासकै सबैभन्दा विध्वंसकारी डढेलो मानिएको छ। यसले ५,३०० संरचनाहरु ध्वस्त पारेको छ। अर्को ठूलो आगो, इटन, शहरको उत्तरी भागमा फैलिएको छ। यसले करिब १४,००० एकड जमिन जलाएको छ।
लस एन्जलसको पश्चिमी भागमा रहेको केनेथ डढेलो बिहीबार देखिएको छ। यसको कारण मान्छेले लगाएको आगो रहेको आशंका गरिँदै एक व्यक्तिलाई पक्राउ गरिएको छ। बाँकी डढेलोको कारण अझै अज्ञात छ।
अधिकारीहरूले डढेलोका कारण २० जना लुटपाटको आरोपमा पक्राउ परेको जानकारी दिएका छन्। डढेलोले जनधनको ठूलो क्षति पुर्याउँदै प्रसिद्ध व्यक्तिहरूको घरसमेत ध्वस्त बनाएको छ।
डढेलोका कारण लस एन्जलसका विद्युत् आपूर्ति ठप्प भएको छ। ट्राफिक जाम र विद्यालय तथा विश्वविद्यालयहरू बन्द हुनुले जनजीवन प्रभावित भएको छ।
जलवायु परिवर्तनले यस्तो डढेलोको सम्भावना बढाएको अमेरिकी अनुसन्धानले देखाएको छ। गर्मी मौसम, लामो खडेरी, र उच्च तापक्रमले आगो लाग्न सजिलो बनाएको छ। क्यालिफोर्निया राज्यका गभर्नर गाभिन न्युसमले “अब आगलागीको सिजन नभई आगलागी वर्ष” भएको बताएका छन्।
स्मरण रहोस्, पालीसेड्स डढेलो पछिल्लो ३० वर्षमा जनवरीमा भएको तेस्रो ठूलो आगलागी हो।

































