पोखरा, २६ पुस ।  क्यानाडाका एक ३२ वर्षीय नागरिकलाई दिल्ली विमानस्थलमा कुकुरको जबडासँग मिल्दोजुल्दो देखिने तर वास्तवमा गोहीको खप्पर बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको छ। उनी सोमबार क्यानाडा फर्किन लागेको बेला सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्।

दिल्ली भन्सार कार्यालयले बिहीबार दिएको जानकारीअनुसार, सुरक्षा जाँचको क्रममा एक क्रिम रंगको कपडामा बेरिएको, ७७७ ग्राम तौल भएको गोहीको बच्चाको खप्पर फेला परेको थियो। ती व्यक्ति पक्राउ परेपछि उक्त खप्परलाई वन तथा वन्यजन्तु विभागलाई जिम्मा लगाइएको छ।

वन तथा वन्यजन्तु विभागका अधिकारीहरूका अनुसार, सो खप्पर भारतको वन्यजन्तु संरक्षण ऐन र भन्सार ऐनको उल्लंघन हुने प्रमाणित भएको छ। खप्परको बनावट, दाँतको ढाँचा, बेम तथा नाकको संरचनाले यसलाई गोहीको बच्चाको खप्पर भएको पुष्टि गरेको अधिकारीहरूले बताएका छन्।

गोहीको खप्पर थाइल्यान्डबाट ल्याइएको आशंका

बिबिसीका अनुसार, ती व्यक्तिले उक्त खप्पर थाइल्यान्डबाट खरिद गरेको खुलासा गरेका छन्। तर, उनले वन्यजन्तु वस्तु ओसारपसार गर्न आवश्यक अनुमति लिएका थिएनन्। वन अधिकारी राजेश तण्डनले टाइम्स अफ इण्डियालाई जानकारी दिँदै भने, “ती व्यक्तिले गोही शिकार गरेको वा मारेको होइन भनेर दाबी गरेका छन्।”

हाल उक्त खप्परको उप-प्रजाति पत्ता लगाउन थप परीक्षण भइरहेको छ।

कानूनी कारबाही

दिल्ली भन्सारले ती व्यक्तिविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। वन्यजन्तु संरक्षण ऐन अन्तर्गत गोही तथा अन्य संरक्षित जनावरका अङ्ग वा सामग्री ओसारपसार गर्नु गैरकानूनी मानिन्छ।

यसअघि पनि यस्तै घटना

बिबिसीका अनुसार, गत वर्ष पनि क्यानाडाकै एक ३२ वर्षीय महिलालाई दिल्ली विमानस्थलमा पक्राउ गरिएको थियो। ती महिलाको लगेजमा अज्ञात जनावरका सिङ भेटिएका थिए। उनले उक्त सिङ लद्दाखको यात्राका क्रममा स्मारिका रूपमा ल्याएको दाबी गरेकी थिइन्।

भारतमा वन्यजन्तुका अवयव तथा संरक्षित जनावरका अंगहरू ओसारपसार गर्नु कडा रूपमा प्रतिबन्धित छ। अधिकारीहरूले यस्ता कार्यहरू वन्यजन्तु संरक्षण र जैविक विविधता बचाउन अत्यावश्यक रहेको बताएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0