पोखरा, २६ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं जाने तयारीमा रहेका छन्। बिहीबार पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन्।
रास्वपाका एक नेताका अनुसार लामिछाने शुक्रबार दिउँसो साढे १ बजे जहाजमार्फत काठमाडौं जानेछन् । त्यसपछि उनी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुनेछन्। लामिछाने आफैं अदालतमा उपस्थित हुने सर्तमा प्रहरीले उनलाई रिहा गरेको थियो।
सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दावीसहित पुस ५ गते थप अभियोजनपत्र र पुस ७ गते पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप लागेको छ।
यता, काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछानेमाथि मुद्दा दायर गरिएको छ। यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। यस प्रकरणमा लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामाले तीन लाख धरौटी बुझाएर मंगलबार रिहा भइसकेका छन्।
यो मुद्दाले सहकारी क्षेत्रमा देखिएको विकृति र यसका प्रमुख नेतृत्वहरूमाथि ठूलो प्रश्न खडा गरेको छ। लामिछानेमाथि अदालतको आदेशपश्चात् कानूनी प्रक्रिया जारी रहनेछ।





























