पोखरा, पुस । पोखरामा १३औँ संस्करणको पोखरा महोत्सव भव्य रूपमा सुरु भएको छ। युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा सुरु भएको महोत्सवको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन्। उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले क्लबको सामाजिक योगदानको प्रशंसा गर्दै पोखरामा खुला चिडियाखाना निर्माणको थालनीको विषयलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए।
मन्त्री गुरुङले पर्यटकीय राजधानी घोषणा भइसकेको पोखरालाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माणमा जोड दिए। उनले अन्तर्राष्ट्रिय सम्मेलन हल, बसपार्क, र पोखरा आईटी पार्कजस्ता परियोजनाहरूको आवश्यकता औँल्याउँदै आगामी नीतिहरूमा यी विषय समेट्न पहल गरिने प्रतिबद्धता जनाए। ताल संरक्षण तथा विकास प्राधिकरणलाई थप सक्रिय बनाउँदै पोखराका तालहरूको संरक्षण, सीमा निर्धारण र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले युनाइटेड क्लबले अगाडि सारेको पोखराको लेखनाथस्थित पचभैया सामुदायिक वनमा निर्माणाधीन चिडियाखाना निर्माणमा प्रदेश सरकारको पूर्ण समर्थन रहने बताए। उनले यो परियोजनाले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्दै, युनाइटेड क्लबजस्ता संघसंस्थाको सक्रियता प्रशंसनीय भएको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले युनाइटेड क्लबले शिक्षा, पर्यटन र सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको सराहना गर्दै थप सहयोगको प्रतिबद्धता व्यक्त गरे। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा महोत्सवले आर्थिक लाभमात्रै नभई सामाजिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्दै आएको बताए।
महोत्सवको उद्घाटन सत्रअघि पोखराको रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी प्रदर्शन गरिएको थियो। ३ सयभन्दा बढी संघसंस्थाको सहभागितामा आयोजना गरिएको झाँकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा १५ पहिलो स्थानमा रह्यो। यसैगरी, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय दोस्रो र क्षेत्री समाज नेपालको साराङ नाच तेस्रो स्थानमा रहे।
महोत्सवका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएका पत्रकार कृष्णमणि बराल, भ्लगर सञ्जय पुन, चन्द्रकान्त बराल र प्रेमबहादुर जिसीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरियो।
युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, र सेती नदी संरक्षणमा निरन्तर योगदान दिँदै आएको जानकारी गराए। यसै अवसरमा क्लबले पोखरा २७ अर्चलेमा युनाइटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने योजना सार्वजनिक गर्यो।
महोत्सवमा भएको र्याली प्रतियोगितामा स्वर्णिम टोल महिला समूह पोखरा १० पहिलो स्थानमा रह्यो। विजयी समूहहरूले नगद पुरस्कारसहित मायाको चिनो प्राप्त गरे। कार्यक्रममा गण्डकी प्रदेशका प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापालगायतले मन्तव्य व्यक्त गरेका थिए।
यो महोत्सवले पोखराको सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै पोखराको पहिचानलाई अझै बलियो बनाउने विश्वास गरिएको छ।

































