काठमाडौँ, २८ पुस । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद् बैठक चाँडै आह्वान हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै सभापति खतिवडाले संसद् नचल्दा कतिपय विधेयक अलपत्र परेको भन्दै बैठक तुरुन्त बोलाउनुपर्ने आवश्यकता औँल्याए।
सभापति खतिवडाले संसद्को नियमित सञ्चालन संवैधानिक बाध्यताका कारण पनि आवश्यक रहेको बताए। उनले संसद्मा विचाराधीन कतिपय विधेयकका विषयमा आफ्नो समितिमा छलफल भइरहेको जानकारी दिँदै निजामती कर्मचारी उमेर ६० वर्ष तोक्ने विषय छलफलको क्रममा रहेको बताए। सरकारले विधेयकहरूका सम्बन्धमा स्पष्ट धारणा ल्याउनुपर्ने उनले जोड दिए।
सभापति खतिवडाले संविधान संशोधनका विषयमा पनि सरकार सहमतिका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले संविधान संशोधनलाई सहमति र समन्वयबाट टुंग्याउनुपर्नेमा जोड दिँदै यसले देशको राजनीतिक स्थायित्वमा योगदान पुर्याउने धारणा राखे।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेता डा. भीम रावललगायत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू, संवैधानिक आयोगका प्रतिनिधिहरू, कूटनीतिक नियोगका सदस्यहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति थियो।
जलपान कार्यक्रममा सहभागी सबैले राष्ट्रिय एकता र राष्ट्रियताको महत्वबारे चर्चा गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गरे।

































