काठमाडौं, २ माघ। जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार गरिएको घटनामा ललित केसी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार केसीलाई प्रहरी वृत्त, सिंहदरबारको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, भद्रकाली पठाएको छ।
त्रिपाठी रवि लामिछानेसँग सम्बन्धित सहकारी पीडितको पक्षमा बहस सकेर अदालतबाट बाहिरिने क्रममा दुर्व्यवहारको सिकार भएका थिए। उनका अनुसार, अदालतको इजलासबाट बाहिरिनासाथ उनलाई एक समूहले घेरेको थियो। सुरुमा युट्युबरहरूले घेराबन्दी गरेपछि केही प्रतिक्रिया दिन खोज्दा ‘थुनाएर पैसा फिर्ता हुन्छ?’ भन्दै अन्य व्यक्तिहरूले उनलाई लछारपछार गरेको त्रिपाठीले बताए।
त्रिपाठीले घटनाको विवरण दिँदै आफूमाथि शारीरिक आक्रमण हुँदा बचाउन प्रयास गर्ने व्यक्तिहरूले समेत चोट पाएको जनाए। ‘म बोल्दै गर्दा उनीहरूले घेरेर भुइँमा लडाइ दिए, एक–दुई घुस्सा मलाई लाग्यो भने मलाई बचाउन खोज्ने साथीलाई बढी चोट लाग्यो,’ उनले भने।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीमाथि कानुनी कारबाही अघि बढाउने बताएको छ। वरिष्ठ अधिवक्तामाथि अदालत परिसरमै भएको यस्तो घटना कानुन व्यवसायी र न्याय प्रणालीप्रतिको आक्रमण भएको भन्दै कानुनी क्षेत्रका विभिन्न व्यक्तिहरूले विरोध जनाएका छन्।
यसैबीच, जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको घटनापछि यस प्रकरणले थप चर्चा पाएको छ। अदालत परिसरमा सुरक्षाको अवस्था र कानुनी व्यवसायीहरूको सुरक्षासम्बन्धी विषय पनि अहिले उठान गरिएको छ।





























