पोखरा, ४ माघ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे पाँच खर्ब रुपैयाँ लागतका दुई ठूला जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ। किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय लगानी आह्वान गरिएको आशयपत्रको प्रक्रिया कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकबाट रद्द गरेको हो।
गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना मार्फत सार्वजनिक–निजी साझेदारी ढाँचामा निर्माणका लागि लगानी आह्वान गरिएको थियो। तर, कम्पनीले अब यो प्रक्रिया रोक्ने निर्णय गरेको जनाएको छ।
यी दुई आयोजनाको विद्युत् उत्पादन कुल क्षमता २३५६ मेगावाट रहेको छ। किमाथांका अरुण अर्धजलाशय आयोजनाले ४५४ मेगावाट र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाले १९०२ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्ने बताइएको छ। आयोजनाको कुल लागत पाँच खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ रहेको अनुमान छ।
कम्पनीले प्रक्रिया रद्द गर्नुको कारणबारे विस्तृत जानकारी नदिए पनि यी आयोजना नेपालका लागि ठूलो ऊर्जा उत्पादन सम्भावना राख्ने भएकाले नयाँ योजना र लगानी संरचनामा अघि बढ्न सक्ने अनुमान गरिएको छ।

































