पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघले आगामी माघ १० गतेदेखि ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सव आयोजना गर्ने भएको छ। संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेला उद्यमशीलता विकास, प्रवर्द्धन र नयाँ सम्भावनाको खोजीलाई केन्द्रित गरेर आयोजना गरिंदैछ।

मंगलबार बस्तुगत संघ र संस्थाका प्रतिनिधिहरूसँगको बैठकमा अध्यक्ष कार्कीले मेलामा महिला उद्यमी, सूचना प्रविधि, र उद्योगका उत्पादन प्रदर्शन गरिने जानकारी दिए। उनले मेलालाई मनोरञ्जनभन्दा प्रवर्द्धनात्मक बनाउने उद्देश्य रहेको बताए। मेलाको तयारीका लागि ५ सय १ सदस्यीय मूल आयोजक समिति र २७ वटा उपसमिति गठन गरिएको छ।

गण्डकीसहित सातवटै प्रदेशका उत्पादन, संस्कृति, र खानाका परिकारहरू प्रदर्शन गर्न समन्वय भइरहेको उनले बताए। मेलामा सूचना प्रविधिका पछिल्ला प्रविधि र नयाँ जानकारीसम्बन्धी प्रदर्शनीको विशेष व्यवस्था गरिएको छ।

संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले तयारी तीव्र पारिएको बताए भने महासचिव शोभा गौतमले मेला सिर्जनशीलतासँग जोड्न कम्प्युटर एसोसियसन, मोबाइल वितरक संघ र पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँग सहकार्य भएको जनाए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0