पोखरा, ५ माघ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यासलाई अस्वीकार गर्ने स्पष्ट पारेका छन्। शनिबार आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले संविधान संशोधनका नाममा सीमित दलहरूको अस्तित्वमात्रै रहने गरी गरिने कुनै पनि कार्यलाई पार्टीले समर्थन नगर्ने बताए।
महासचिव गुरुङले हालैको उपनिर्वाचनले माओवादी पार्टीप्रतिको जनआकर्षण अझै बलियो रहेको प्रमाणित गरेको भन्दै पार्टीको सांगठनिक निर्माणमा जुट्न कार्यकर्ता र नेताहरुलाई आह्वान गरे। उनले माओवादी पार्टी सकियो भन्ने भ्रमको निर्माण गरिएको तर जनताले यसलाई खण्डन गरिसकेको उल्लेख गरे।
बैठकमा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर र हरिबहादुर चुमानले पनि सम्बोधन गरे। तमु राष्ट्रिय मुक्ति मोर्चाले आगामी फागुन १० गते राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिए।


























