पोखरा, ७ माघ। आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ अन्तर्गत नेपालले सोमबार आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ। खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ। नेपालको कप्तानी पुजा महतोले सम्हालेकी छन् भने स्कटल्याण्डको नेतृत्व नियाम मुइरले गर्दैछिन्।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग ५२ रनमा अलआउट हुँदै हार व्यहोरेको थियो। नेपालले कमजोर प्रदर्शन गरेका कारण खेलमा अपेक्षाकृत नतिजा ल्याउन सकेन। त्यस्तै, स्कटल्याण्डले पनि बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको पराजय भोग्दै पहिलो खेल गुमाएको थियो। यस खेलमा दुवै टोली आफ्नो अघिल्लो प्रदर्शन सुधार्दै जीत निकाल्ने लक्ष्यमा हुनेछन्।

नेपाल र स्कटल्याण्डको यस प्रतियोगितामा यो पहिलोपटकको भेट हो। दुवै टोलीको स्तर समान रहेको मानिन्छ। नेपालले सुपर सिक्समा पुग्नका लागि आजको खेल जित्नुपर्ने दबाब छ। स्कटल्याण्डका लागि पनि यो खेल निर्णायक हुने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

ओभरकास्ट परिस्थितिले खेलको रणनीतिमा असर पार्न सक्छ। यसकारण टस जित्ने टोलीले बलिङ रोज्ने सम्भावना छ। आज नेपालसहित अन्य टोलीका खेलहरू पनि जारी छन्, जसमा पाकिस्तान, अस्ट्रेलिया, आयरल्याण्ड, र न्युजिल्याण्डका खेल समावेश छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0