पोखरा, ७ माघ। विश्वकै मूल्यवान् टेलिस्कोपमध्ये एक मानिने भेरी लार्ज टेलिस्कोप (भीएलटी) खतरामा परेको छ। चिलीको माउन्ट परानालमा अवस्थित यस खगोलीय उपकरणलाई उज्यालो प्रदूषणको समस्या हुने चेतावनी खगोलविद्हरूले दिएका छन्। यो समस्या अमेरिकाको ऊर्जा कम्पनी एईएस एनर्जीले माउन्ट परानाल नजिकै निर्माण गर्न लागेको हाइड्रोजन उत्पादन केन्द्रका कारण सिर्जना भएको हो।

परानालमा रहेको भीएलटी संसारकै संवेदनशील आकाश-अवलोकन उपकरणहरूमध्ये एक हो। यसले १९९० को दशकमा ३५० मिलियन डलरको लागतमा निर्माण भएर खगोलविद्हरूलाई ब्रह्माण्डको अध्ययनमा अद्वितीय योगदान पुर्‍याएको छ। चारवटा विशाल टेलिस्कोप एकैसाथ सञ्चालन हुने यो केन्द्रले ब्ल्याक होलदेखि दुर्लभ ताराहरूको अवलोकन गर्नेसम्मका कार्य सम्पन्न गरेको छ।

युरोपियन सदर्न अब्जर्भेटोरी (ईएसओ) का महानिर्देशक जाभियर बार्कन्सका अनुसार हाइड्रोजन परियोजना स्वीकृत भएमा भीएलटीले उज्यालो प्रदूषणका कारण आफ्नो खगोलीय विशिष्टता गुमाउन सक्छ। उज्यालो प्रदूषणका कारण १० प्रतिशत आकाश उज्यालो हुने सम्भावना रहेको उनले बताए। यसले टेलिस्कोपले देख्न सक्ने क्षमतामा ठूलो असर पार्नेछ।

परानाल चिलीको अताकामा मरुभूमिमा अवस्थित छ। यो क्षेत्र सहर र औद्योगिक क्षेत्रको उज्यालो प्रदूषणबाट मुक्त भएकाले खगोलविद्हरूका लागि विश्वकै उपयुक्त स्थान हो। ईएसओले १९९० को दशकमा परानालमा भीएलटी निर्माण गरी युरोपेली खगोलशास्त्रको केन्द्र बनाएको थियो। उज्यालो प्रदूषणबाट जोगाउन सकिएमा भीएलटीले अझै धेरै खगोलीय रहस्य उजागर गर्न सक्ने सम्भावना छ।

ईएसओले आगामी दशकमा माउन्ट परानालको छेउमा नयाँ टेलिस्कोप एक्स्ट्रिम्ली लार्ज टेलिस्कोप (ईएलटी) निर्माण गर्दैछ। यो टेलिस्कोप विश्वकै ठूलो हुनेछ। यसले १३० फिट चौडाइको मुख्य ऐनाको प्रयोग गरेर ब्रह्माण्डको टाढा टाढासम्मको अध्ययन गर्नेछ। तर, आईएनएनए परियोजनाबाट हुने उज्यालो प्रदूषणले ईएलटीको कार्यक्षमता पनि कमजोर बनाउन सक्ने बताइएको छ।

यस नवीकरणीय परियोजनाको लागत १० अर्ब डलर रहेको छ। यसले ३,०२१ हेक्टर क्षेत्र ओगट्नेछ, जसमा सौर्य फार्म, पवन फार्म, र ब्याट्री ऊर्जा भण्डारण प्रणाली हुनेछ। ईएसओका अनुसार यो परियोजनाले करिब २०,००० जनसंख्या भएको सहर बराबर उज्यालो फैलाउनेछ। यसले परानालको रातको आकाशको अँध्यारोपन गुम्न सक्ने चिन्ता खगोलविद्हरूले व्यक्त गरेका छन्।

भीएलटीले हालसम्म आकाशगंगाको केन्द्रको ब्ल्याक होल, सौर्य प्रणालीबाहेकका ग्रह, र दुर्लभ कस्मिक वेब पत्ता लगाउने जस्ता महत्वपूर्ण कार्यहरू गरेको छ। उज्यालो प्रदूषणको समस्याले यस्ता अनुसन्धानमा ठूलो धक्का लाग्ने बताइएको छ। यदि उज्यालो प्रदूषण नियन्त्रण गरिएन भने भीएलटीले अत्यन्त फिक्का आकाशगंगाहरू र एक्सोप्लानेटहरूको वायुमण्डलसम्बन्धी विवरण अवलोकन गर्न असमर्थ हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0