काठमाडौं, ७ माघ। एमएडब्लू वृद्धिले नेपालमा आफ्नो नयाँ र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी ‘डीपल एस ०७ एल’ सार्वजनिक गरेको छ। नेपालमा ७५० युनिट बिक्री गरिसकेको लोकप्रिय मोडल डीपल एस ०७ को सफलतालाई थप मजबुत बनाउँदै कम्पनीले उन्नत प्रदर्शन र अत्याधुनिक सुविधाहरू सहितको यो नयाँ संस्करण बजारमा ल्याएको हो।
डीपल एस ०७ एल को सार्वजनिक समारोहमा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, क्यानका सचिव तथा डीपलका स्टार ब्रान्ड एम्बेसडर पारस खड्का, र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा अनावरण गरेका थिए। अनावरण समारोहमा विष्णु अग्रवालले एमएडब्लूको ग्राहक–केन्द्रित प्रतिबद्धताबारे चर्चा गर्दै भने, “प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरू मार्फत् ग्राहक अनुभवलाई समृद्ध बनाउनु हाम्रो लक्ष्य हो।”
विस्तारित दायरा र शक्तिशाली प्रदर्शन
डीपल एस ०७ एल ले १६० किलोवाट रियर–ह्वील ड्राइभ मोटर र ७९.९ किलोवाट आवरको बलियो ब्याट्रीको संयोजनमा ४८५ किलोमिटर (WLTP) को असाधारण दायरा प्रदान गर्छ। यो इभीले सिंगल चार्जमा लामो दूरी यात्रा गर्ने सुविधा दिएर ईभीको नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको दाबी छ।
यस एसयुभीले १८० किलोमिटर प्रति घण्टाको उच्चतम गति प्राप्त गर्न सक्छ भने ०–१०० किलोमिटर प्रतिघण्टाको स्पिड ६.६ सेकेन्डमा हासिल गर्न सक्ने उल्लेख गरिएको छ।
अत्याधुनिक डिजाइन र प्राविधिक विशेषता
डिपल एस ०७ एल मा बोल्ड र परिष्कृत डिजाइनको साथ फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, अगुमेन्टेड रियालिटी (एआर) हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल, क्वालकम स्न्यापड्रागन ८१५५ चिपमा आधारित १५.६ इन्चको टचस्क्रिन, र डीएएस २.५ जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।
विशेष अफर
कम्पनीले यो एसयुभीको लागि परिचयात्मक मूल्य ८१.९९ लाख रुपैयाँ निर्धारण गरेको छ। यो अफर मात्र १५ दिनसम्म रहने र त्यसपछि मूल्य बढेर ८४.९९ लाख रुपैयाँ हुने जानकारी दिइएको छ। ग्राहकहरूको आवश्यकता पूरा गर्न देशभरका ९१ चार्जिङ स्टेशनहरूसहितको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
































