पोखरा, ७ माघ। प्रतिपक्षी दलहरूको विरोधका बीच सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन दिउँसो १ बजेका लागि आह्वान गर्न निर्णय गरेको हो।
खानेपानीमन्त्री प्रदीप यादवका अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच अधिवेशनबारे छलफल भएको थियो। सिंहदरबारमा भएको छलफलमा माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु गर्ने सहमति भएपछि मन्त्रिपरिषद्ले सोही दिनका लागि सिफारिस गरेको हो।
विपक्षी दलहरूले संसद् अधिवेशन नबोलाएकोप्रति सरकारलाई दबाब दिँदै आएका थिए। नेकपा माओवादी केन्द्रसहित सात विपक्षी दलले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका थिए। गत शुक्रबारको पत्रकार सम्मेलनमा विधेयक र बजेट छलफल रोकिएको भन्दै ती दलहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
यो वर्ष सरकार संसद्को हिउँदे अधिवेशन आह्वान गर्न गत वर्षभन्दा डेढ महिना ढिलो भएको छ। यस अवधिमा सरकारले ५ वटा अध्यादेश जारी गरेकोमा विपक्षीहरूले तीव्र आलोचना गर्दै संसद्लाई पन्छाएर सरकार चलाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकारले संसद्को समयमै अधिवेशन बोलाउन ढिलाइ गरेको आरोप खेप्दै गर्दा विपक्षीहरूको दबाबले सरकारलाई अधिवेशन बोलाउन बाध्य बनाएको ठानिएको छ।

































