काठमाडौं, ७ माघ। कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार जोशीलाई ५० लाख धरौटीमा तारेखमा रिहा गर्न निर्देशन दिएको हो।
जोशीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाएको थियो। अदालतले थुनछेक बहसपछि उनी धरौटीमा छुट्न योग्य भएको ठहर गरेको हो। यसअघि जोशी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा थिए। धरौटी आदेशपछि उनी रिहा हुने भएका हुन्।
पूर्वडीआईजी जोशी यसअघि पनि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटी बुझाएर छुटेका थिए। त्यहाँबाट छुटेपछि उनी काठमाडौं मुद्दामा हाजिर भएका थिए। कास्कीमा न्यायाधीश नीतिज राईको आदेशमा रिहा भएका जोशी काठमाडौं मुद्दाका क्रममा ढिलोगरी उपस्थित भएका थिए।
उनको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट सरकारी वकिलसहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए।
जोशीसँगै सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन्। रवि काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटी बुझाएर छुटिसकेका छन्। उनीहरुविरुद्ध रुपन्देहीमा अर्को ठगी मुद्दा दर्ता भइसकेको छ। रविविरुद्ध ४ करोडभन्दा बढी बिगो कायम गर्दै सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ।
कालिमाटीस्थित सहकारी प्रकरणमा मुछिएका जोशीमाथि थप कानुनी प्रक्रिया अघि बढ्ने तयारी रहेको छ। ठगी प्रकरणमा उच्च तहका व्यक्तिहरूको संलग्नताले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चासो बढाएको छ।





























