रूपन्देही, १० माघ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो। लामिछानेले हिजो आफ्नो बयान दिएका थिए। अदालतले उनलाई पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा हाजिरी जमानीमा रिहा गरे पनि आज बिहान १० बजे उपस्थित हुने सर्त राखेको थियो।
यसअघि कास्की प्रहरीको हिरासतमा रहेका बेला पक्राउ पुर्जी थमाइएको लामिछानेलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो। सरकारी वकिल कार्यालयतर्फका कानून व्यवसायीहरूले आजको सुनुवाइमा बहस सुरु गरेका छन्।
यस प्रकरणले राजनीतिक वृत्तमा हलचल ल्याएको छ भने अदालतको निर्णयतर्फ सबैको ध्यान केन्द्रित छ।





























