
पोखरा, १३ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुँदैछ। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गर्ने यस प्रतियोगिता नयाँ फम्र्याटमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक तर्फ तीन खेल नकआउट आधारमा हुनेछ। नकआउट चरणका विजेता टोली एउटा समूहमा र पराजित टोली अर्को समूहमा रहनेछन्। दुवै समूहमा लिग खेल गराइनेछ, जसमा प्रत्येक टोलीले दुई खेल खेल्नेछन्।
लिग चरणपछि, जित्ने समूहका शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछन् भने तेस्रो स्थानको टोलीले एलिमिनेटर खेल्नेछ। पराजित समूहको शीर्ष स्थानमा रहेको टोलीले एलिमिनेटर खेल्ने मौका पाउनेछ। पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुने तय गरिएको छ।






























