पोखरा, १३ माघ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने र आवश्यक सामग्री खरिद गर्ने प्रमुख थलो बनेको छ। पोखरा उद्योग वाणिज्य सङ्घले क्यान कास्की र नेपाल मोबाइल वितरक सङ्घसँगको सहकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ र चौथो मोबाइल एक्सपो २०२५ समेत समाहित गरेपछि मेला थप आकर्षक बनेको हो।

क्यान कास्कीका अध्यक्षले मेलामा सूचना प्रविधिका नवीनतम आविष्कार र उत्पादनहरू राखिएको जानकारी दिएका छन्। मेलामा प्रस्तुत सामग्रीहरूमा भारी छुटको व्यवस्था गरिएको छ। यता, मोबाइल एक्सपो अन्तर्गत मोबाइल फोन तथा यसको एसोसरिजमा ५० प्रतिशतसम्मको छुट र किस्ताबन्दीमा खरिद सुविधा उपलब्ध गराइएको नेपाल मोबाइल वितरक सङ्घ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले बताए। थप आकर्षणका रूपमा मेलाको टिकट किन्नेलाई गोलाप्रथामार्फत मोबाइल उपहार दिने योजना पनि रहेको छ।

मेलाको तेस्रो दिनसम्म करिब १८ हजारले मेलाको अवलोकन गरेका छन्। आयोजकका अनुसार मेलाले उद्योग, हस्तकला, कृषि, सूचना प्रविधि, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा उत्पादक र उपभोक्ताबीच सम्पर्क बढाउने र व्यवसाय विस्तारको सम्भावना खोज्ने उद्देश्य राखेको छ। मेलामा सातवटै प्रदेशका हस्तकला, महिला उद्यमीका उत्पादन, जडीबुटी, पुष्प प्रदर्शनी तथा कृषिजन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।

सांस्कृतिक कार्यक्रमसमेत मेलाको मुख्य आकर्षण बनेको छ। शनिबार श्रीकृष्ण बम मल्ल, पार्वती गुरुङलगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए भने आइतबार वरिष्ठ लोकगायक प्रजापति पराजुलीसहित अन्य ख्यातिप्राप्त कलाकारहरू प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा मेला प्रचारप्रसार संयोजक मनोहरि पौडेलले जानकारी दिए । आयोजकले मेला आईटी खेल र प्रतियोगिताहरूले अझै रौनकपूर्ण बनाउने योजना बनाएको जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0