पोखरा, १३ माघ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस आज पनि जारी रहने भएको छ। रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बिहीबारदेखि सुरु भएको बहस शुक्रबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सम्पन्न भएको छ भने लामिछानेका वकिलहरुको बहस अझै बाँकी छ। लामिछानेका वकिलको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका तर्फका वकिलहरुले जबाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत उनलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने निर्णय सुनाउने छन्। सम्भवतः आजै निर्णय आउने अपेक्षा गरिएको छ।
सुप्रिम सहकारी प्रकरणमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। लामिछानेको नाम भने पूरक उजुरीमा समावेश गरिएको हो। प्रहरी अनुसन्धानले सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण भएको देखाएको थियो।
लामिछाने यसअघि कास्कीको सूर्यदर्शन सहकारी प्रकरण र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर छुटेका थिए।





























