पोखरा, १४ माघ । पोखरालाई व्याण्डहरुको राजधानीको पहिचान दिलाउँदै ९० को दशकको सांगीतिक विरासतलाई पुनः झल्काउने उद्देश्यले ‘ब्याक टु नाइन्टिज: विरासतलाई फर्केर हेर्दा’ कार्यक्रम आयोजना हुने भएको छ। पोखरा सांगीतिक कलाकार संघ, नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा यो कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा ९० को दशकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका सात सांगीतिक व्याण्डहरुले आफ्नो प्रस्तुति दिनेछन्। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा कार्यक्रम संयोजक मनकुमार श्रेष्ठका अनुसार, कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोन्ड व्याण्ड (श्यामसुङ तामाङ)ले सांगीतिक प्रस्तुति दिनेछन्।
आयोजक संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले पोखरालाई सांगीतिक व्याण्डहरुको राजधानीको पहिचान दिलाउन यो कार्यक्रम विशेष हुने बताए। ‘९० को दशकमा पोखराका व्याण्डहरुले कला र संगीतमार्फत देश तथा विदेशमा विशेष प्रभाव पार्न सफल भएका थिए। तर, समय अन्तरालमा यो पहिचान बिस्तारै मन्द हुँदै गयो,’ उनले भने, ‘तर, फेरि एक पटक त्यही सांगीतिक विरासतलाई जगाउँदै विश्वको ध्यान पोखरातर्फ तान्ने हाम्रो प्रयास हो।’
संघका सचिव भाष्करध्वज श्रेष्ठका अनुसार, कार्यक्रमको उद्देश्य सांगीतिक व्याण्डहरुको पुनर्जागरण गर्दै नयाँ पुस्तालाई सांगीतिक क्षेत्रमा लाग्न उत्प्रेरित गर्नु हो। पोखरालाई सांगीतिक पर्यटनको गन्तव्य बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने, सांगीतिक सन्देशमार्फत सामाजिक समस्याहरुलाई समाधान गर्ने तथा राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

संघका निवर्तमान अध्यक्ष सुनील थापाले कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएको अनुभूति गर्ने बताए। ‘यसले परिवारभित्रको सम्बन्ध प्रगाढ बनाउन र सन्ततिलाई त्यो समयका कथा सुनाउने अवसर पनि दिनेछ,’ उनले थपे।
कार्यक्रम सम्पन्न गर्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको छ। प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी दिए।





























