पोखरा, १४ माघ । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी १२ मध्ये ११ टोलीको टुंगो लागेको जानकारी दिएको छ। २२ माघदेखि ३ फागुनसम्म पोखरा रंगशालामा हुने यस प्रतियोगितामा देशभित्रका र छिमेकी मुलुकका चर्चित टोलीहरू सहभागी हुनेछन्।

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा, नेपाल पुलिस, एपिएफ, ब्रिगेड ब्वाइज क्लब युके, थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, र आयोजक सहारा क्लबले भाग लिनेछन्। यस वर्षको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ भने संरक्षकमा पोखरा महानगरपालिका र सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रन प्रिमियम बासमती राइस रहेको छ।

प्रतियोगिताबाट अनुमानित १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकले जनाएको छ। बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए। सहारा क्लबले २०५५ सालदेखि फुटबलमार्फत सामाजिक सेवामा योगदान गर्दै आएको छ।

गत वर्षको विजेता त्रिभुवन आर्मीले १२ लाख पुरस्कार पाएको थियो भने उपविजेता थ्रि स्टारले ६ लाख प्राप्त गरेको थियो। यस वर्षको प्रतियोगिता पनि देशकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा रहने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0