पोखरा, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। रविले बैंक ग्यारेन्टीमार्फत अदालतमा धरौटी रकम बुझाएका थिए।

गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख र माघ २ गते कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी बुझाएर रिहा भएका लामिछानेले यसपटक सुप्रिम सहकारी प्रकरणमा पनि राहत पाएका छन्। तीनवटै प्रकरणमा अदालतले रविलाई जेल नपठाई धरौटीमा रिहा गरे पनि अन्तिम निर्णयमा जेल जानुपर्ने सम्भावना कायमै रहेको बताइएको छ।

सुप्रिम सहकारी प्रकरणमा रविविरुद्ध ठगी र संगठित अपराधको आरोप लगाइएको थियो। रविले बुधबार रुपन्देही अदालतमा बयान दिएका थिए। त्यसपछि बिहीबारदेखि थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिल र जाहेरवालाले रविविरुद्ध जवाफी बहस गरे पनि वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ, पशुपति भण्डारी, र नारायण कँडेल लगायतले रविको पक्षमा बहस गरेका थिए।

यसपटक रविलाई हिरासतमा नपठाई परिवारसँग बस्ने सुविधा दिइएको छ। तर तीनवटै अदालतले रविलाई ठगी प्रकरणमा निर्दोष मान्न सकिने आधार नरहेको टिप्पणी गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0