पोखरा, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विकास र तीव्र आर्थिक प्रगति हासिल गर्नका लागि नीतिगत निरन्तरता हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पुनले भने, “नेपालजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ, तर नीतिगत निरन्तरता भए मात्र प्रगति सम्भव छ।”
पूर्व अर्थमन्त्री तथा ऊर्जामन्त्री रहेका पुनले नीति निरन्तरताका कारण नेपाल ऊर्जा र सिमेन्ट उद्योगमा आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत आफ्नो उपस्थिति जनाउन सफल भएको बताए। उनले २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ल्याइएका ऊर्जा क्षेत्रमा सुधारका उपायहरू, जसका कारण आज नेपाल विद्युत निर्यात गर्न सक्षम भएको छ, सम्झाए।
उपमहासचिव पुनले भने, “अठार घण्टा लोडसेडिङबाट आज हामी भारत र बङ्गलादेशसम्म विद्युत् निर्यात गर्न सक्षम भएका छौं।” उनले सिमेन्ट उद्योगको पनि सुधारको उदाहरण प्रस्तुत गर्दै भने, “नेपालका सिमेन्ट उद्योगहरूले आन्तरिक उत्पादन बढाएर भारतीय बजारमा आफ्नो स्थान बनाउन सफल भएका छन्।”
उनले सरकारको भूमिका मात्र दोष दिनु गलत हुने पनि बताएका छन्। सरकारसँगै अन्य संस्थाहरू पनि विकासमैत्री बन्न आवश्यक रहेको उनले जोड दिएका छन्।
कार्यक्रममा विभिन्न प्यानलहरूले नेपालका राष्ट्रिय गौरवका आयोजनाका प्रगति र समस्याहरूका विषयमा छलफल गरेका थिए। हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग र मेलम्ची खानेपानी जस्ता आयोजना परेखि समस्याका विषयमा चर्चा भएको थियो।





























