पोखरा, १४ माघ । अमेरिकी सरकारले वैदेशिक सहयोगका कार्यक्रम तीन महिनाका लागि स्थगित गर्ने निर्णय गरे पनि यसले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को नेपाल परियोजनामा कुनै असर नगर्ने स्पष्ट भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्रीले युएसएड तथा अन्य सहयोग कार्यक्रम तीन महिनाका लागि रोक्ने निर्णय गरेका छन्। यो निर्णय अमेरिकी वैदेशिक सहायता कार्यक्रमहरूको पुनर्संयोजन र अमेरिका पहिलो नीतिसँग अनुकूलता सुनिश्चित गर्न गरिएको बताइएको छ। तर, यो रोकका सूचीमा एमसीसी नपरेकाले नेपालमा एमसीसीका कार्यक्रमहरू अविच्छिन्न रूपमा अघि बढ्ने भएका छन्।

एमसीसी अन्तर्गत नेपालमा प्रसारण लाइन निर्माण र सडक सुधार कार्यका लागि ७५ अर्ब रुपैयाँभन्दा बढीको अनुदान प्रदान गरिएको छ। सन् २०१७ मा सम्झौता भएको यो परियोजना २०२२ मा कार्यान्वयनमा आएको थियो, जसले अब चार वर्षभित्र सम्पन्न हुनुपर्नेछ। परियोजना समयमै सम्पन्न नभए बाँकी अनुदान फिर्ता हुने जोखिम रहेको छ। यसका लागि नेपाल सरकारले २६ अर्ब रुपैयाँभन्दा बढीको लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, युएसएडका अन्य परियोजनामा भने अमेरिकी विदेश मन्त्रालयको निर्देशनअनुसार ९० दिनका लागि खर्च स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र समावेशी नीतिसम्बन्धी चारवटा प्रमुख परियोजनामा खर्च स्थगित गरिएको छ। युएसएडका चालु परियोजनाहरूमा कुल ९५ अर्ब रुपैयाँ बराबरको सहायता प्रतिबद्धता रहेकोमा हालसम्म ४१ अर्ब रुपैयाँ मात्र खर्च भएको छ।

तर, एमसीसी कार्यक्रमको स्थायित्व कायम रहेकाले नेपालका लागि यो ठूलो राहतको विषय बनेको छ। एमसीसीले गरिबी निवारण र आर्थिक वृद्धिमा केन्द्रित काम गर्दै आएको छ, जसले प्रजातान्त्रिक शासन र आर्थिक स्वतन्त्रतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0