पोखरा, १५ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीपीडितको रकम पीडकबाटै भराउनुपर्ने माग उठेको छ। बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा सांसदहरूले सहकारी संस्थाहरूबाट ठगिएका नागरिकको समस्याको समाधानका लागि राज्यको विकल्प सीमित भएकाले रकम अपचलन गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

बैठकपछि नेपाली कांग्रेसका संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरेले सहकारीसम्बन्धी अध्यादेश जारी गरेर समस्याको समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए। उनले अध्यादेशमार्फत सहकारीपीडितका समस्या व्यवस्थापन गरिने विश्वास व्यक्त गरे।

बैठकमा कांग्रेसका सांसदहरूले सहकारीमा देखिएको समस्या र त्यसले नागरिकमा पारेको असरबारे चर्चा गरेका थिए। उनीहरूले सहकारी संस्थाबाट ठगिएका रकमको भार राज्यले उठाउन नसक्ने भन्दै अपचलन गर्ने दोषीहरूलाई कानुनी कठघरामा ल्याएर रकम भराउनुपर्ने धारणा राखेका थिए।

सहकारीसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गरेर सहकारीको पारदर्शिता र विश्वसनीयता पुनर्स्थापना गरिने भन्दै मुख्य सचेतक घिमिरेले सरकारले सोही दिशामा काम गरिरहेको बताए। बैठकमा सांसदहरूले वर्तमान सरकार गठनका लागि कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए।

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफ्ना कामकारबाहीबारे जानकारी गराएका थिए। सांसदहरूले सरकारले चालेका कदमहरूको प्रशंसा गर्नुका साथै केही सुधारका सुझाव पनि दिएका थिए।

संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा थप छलफल गर्न माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि स्थगित गरिएको छ। आगामी बैठकमा सहकारीसम्बन्धी अध्यादेश र अन्य महत्त्वपूर्ण मुद्दामा थप चर्चा गरिने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0