पोखरा, १५ माघ । सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि कास्कीको जिल्ला प्रशासन कार्यालयमा नागरिकको भीड बढेको छ। केही दिनयता यहाँ सयौं नागरिक राष्ट्रिय परिचय पत्रका लागि फोटो खिच्न र बनिसकेको कार्ड लिन लगातार उपस्थित भइरहेका छन्। कतिपय नागरिक घन्टौं लाइनमा बस्न बाध्य भइरहेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले जानकारी दिए अनुसार, दैनिक २ सयभन्दा बढी नागरिक राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्न कार्यालयमा पुग्छन्। उनले भने, “कार्यालयले ४ स्थानमा फोटो खिच्ने व्यवस्था गरेको छ भने १ स्थानबाट बनिसकेको परिचय पत्र वितरण भइरहेको छ।” कास्की गण्डकी प्रदेशको राजधानी भएकाले यहाँ अधिक नागरिक आउने गरेका छन्।
अहिलेसम्म कास्की जिल्लामा २ लाख ७ सय १६ जनाको राष्ट्रिय परिचय पत्र तयार भइसकेको छ। तीमध्ये ७५ हजार ७ सय १८ जनालाई वितरण गरिएको छ। कास्कीका ४ गाउँपालिकामा अभियान सम्पन्न भएको छ भने अहिले पोखरा महानगरपालिकामा परिचय पत्र वितरण अभियान चलिरहेको छ।
सरकारले सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। यसका कारण सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, निवृत्तिभरण, सवारी चालक अनुमति पत्र, व्यक्तिगत आयकर दर्ता, कम्पनी दर्ता, बैंकिङ सेवा, सिम कार्ड र घरजग्गा किनबेच जस्ता सेवाहरूका लागि अब नागरिकलाई राष्ट्रिय परिचय पत्रको आवश्यकता पर्नेछ।
सोमबार, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन्। उनले सरकारको प्रतिबद्धता प्रकट गर्दै भने, “सार्वजनिक सेवामा ढिलाइ भएको गुनासो सम्बोधन गर्दै नागरिकको हातमा राष्ट्रिय परिचय पत्र वितरण गर्न हामी काम गर्दैछौं।”
































